World News
ओबामाको दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्व तहमा नेपाली
भर्जिनिया, पुस २९ (नागरिक)- भर्जिनिया राज्यको लाउडन काउन्टीमा डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्व तहमा एकजना नेपाली पुगेका छन्। शनिबार भएको पार्टीको चुनावमा प्रतिद्वन्द्वीले उम्मेद्वारी फिर्ता लिएपछि १३ वर्षदेखि राष्ट्रपति बाराक ओबामको दलमा सक्रिय हरि शर्मा काउन्टीको कोषाध्यक्षमा निर्वाचित भएका हुन्। झम्सिखेल ललितपुर पुर्ख्यौली घर भएका शर्मा २३ वर्षअघि उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए।
गत राष्ट्रपति चुनावमा ओबामाको पक्षमा खटेका शर्माले विजयसँगै खुशी व्यक्त गरेका छन्। 'अवसरको यो भूमि (अमेरिका) मा आफूले चाहेको गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरणको पहिलो प्रयासको रुपमा मैले यो जिम्मेवारीलाई लिएको छु। यसमा म एक आप्रवासी नेपालीको नाताले गौरव महसुस गर्दछु', शर्मालाई उदृत गर्दै ग्लोबनेपाल डट कमले लेखेको छ।
२३ बर्ष अघि उच्चशिक्षा अध्ययनका लागि अमेरिका पुगेका ललितपुर झम्सीखेल पुर्ख्यौली थलो भएका शर्मा यहाँको नेपाली समुदायमा सक्रिय छन्। पेशाले उनी पब्लिक एकाउण्टेन्ट भए तापनि सामाजिक रुपमा एएनए, एनआरएन लगायतका नेपाली सँघसंस्थामा शर्माको सक्रिता छ। यसपटक स्थानीय पार्टी नेतृत्वको भूमिका आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका कारण पनि निकै महत्वपूर्ण हुनेछ। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा भर्जिनिया राज्यका सिनेटर मार्क हेरिङ र लाउडन काउन्टीका बोर्ड सुपरभाइजरसहित अन्य डेमोक्र्याट सिनियरहरु सहभागी थिए।
सिंगापुरका राष्ट्रपति र प्रधानमन्त्रीको तलब घट्यो
पुष २० – सिंगापुरमा राष्ट्रपति र प्रधानमन्त्री सहित सरकारका उच्च ओहदाका व्यक्तिको तलब कटौती हुने भएको छ । तलब कटौतीबारे अध्ययन गर्न सरकारले गठन गरेको तलब पुनरावलोकन समितिले राष्ट्रपतिको तलब ५१ प्रतिशत र प्रधानमन्त्रीको तलव ३६ प्रतिशतले कटौती गर्न सिफारिस गरेको अधिकारीहरुले जनाएका छन् ।
समितिको सिफारिसका विषयमा यो महिनाको अन्त्यमा संसदमा छलफल हुने भएको छ । प्रधानमन्त्री ली सेनले गतको बर्ष चुनाव जिते लगत्तै तलव बढी भएको भन्दै पुनरावलोकन समिति गठन गर्नु भएको थियो । राष्ट्रपति टोनी टानको तलव अहिले १५ लाख अमेरिकी डलर रहेकोमा ५१ प्रतिशतले काटिने छ । प्रधानमन्त्री ली को अहिले २२ लाख अमेरिकी डलर तलव छ । अब यसमा पनि ३६ प्रतिशत कटौती हुनेछ ।
प्रधानमन्त्री लि विश्वकै धेरै तलव बुझ्ने नेतामा पर्नुहुन्छ । अमेरिकी राष्ट्रपति बाराक ओवामाको अहिलेको तलव ४ लाख अमेरीकि डलर मात्र छ । त्यस्तै एक लाख भन्दा धेरै तलव बुझ्ने सिंगापुरका नेताको तलवमा ३७ प्रतिशतले कटौती हुने भएको छ । –एजेन्सी
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इलको निधन
पुष ४ – उत्तर कोरियाली नेता किम जोङ इलको निधन भएको छ । उत्तर कोरियाको सरकारी टेलिभिजनले ६९ वर्षीय किमको निधन भएको जनाएको हो । कालो कपडा लगाएकी टेलिभिजन प्रस्तोताले निकै मलिन स्वरमा किमको निधन भएको कुरा जानकारी गराएकी थिइन ।
किम लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । किमको निधनपछि उत्तरकोरिया शोकमा परेको छ । उहाँ कोरियाली सेनाको राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ सन् १९९७ देखि हालसम्म कोरियाली मजदुर पार्टीका महासचिव समेत हुनुहुन्थ्यो । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ ।
उत्तर कोरियाको राज्य नियन्त्रित समाचार संस्थाले नागरिकलाई किमका जेठा छोरा किम जङअनलाई नयाँ नेता बनाउने बताएको छ । उसले किमका पक्षमा जनतालाई एकतावद्ध हुन अपिल समेत गरेको छ । ‘सबै पार्टीका सदस्य, जनसेना र जनताले कमरेड किम जङअनको नेतृत्वलाई सहयोग गर्नुपर्छ’, राज्य नियन्त्रित समाचारसंस्थाले भनेको छ, ‘पार्टीको एकीकृत मोर्चा, सेना र जनतालाई यसरीमात्र अझ शक्तिशाली राख्न सकिन्छ ।’
नेता किम जोङ इलको निधनपछि कोरियाका शहरमा बजारहरु बन्द भएको र नागरिकमाथि सरकारी निकायले कडा निगरानी राखेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।